‘मोतीदेवी स्मृति सम्मान’ प्रदान


March 1, 2017

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मोतीदेवीको स्मरणमा स्थापना गरिएको ‘मोतीदेवी स्मृति सम्मान’ समाजको विकासमा विभिन्न क्षेत्रबाट योगदान गरेका आठ महिलालाई आज प्रदान गरिएको छ ।
सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य, विसं २०२६ मा प्याराजम्प गर्ने साहसिक महिला अन्नपूर्ण कुँँवर, निजामती सेवामा दृष्टिविहीन अधिकृत निरा अधिकारी, दाइजो प्रथाकाविरुद्ध चेतना फैलाउने अभियन्ता रिङ्कु ठाकुर, कृषि क्षेत्रमा सूचना प्रवाह गर्ने जेटिए लक्ष्मी भुसाल, राजनीतिज्ञ चन्द्रकला बराल, उद्यमी कल्पना योङ्हाङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार हुनुहुन्छ ।
मोतीदेवी स्मृति केन्द्रले आज आयोजना गरेको कार्यक्रममा सम्मानित महिलालाई दोसल्ला ओडाएर कदरपत्र दिइएको थियो ।
सो अवसरमा राजनीतिज्ञ स्नेहलता श्रेष्ठले मुलुकमा भएका राजनीतिक परिवर्तनले महिला वर्गको अधिकारलाई संरक्षण गरेकाले महिलाले पनि विभिन्न क्षेत्रबाट समाजको विकास तथा निर्माणमा योगदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
केन्द्रका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा महिला समुदायको आर्थिक क्षेत्रमा पहँुच वृद्धि भएमा मात्र सामाजिक विकास हुने विचार व्यक्त गर्नुभयो ।
सम्मानित उद्यमी कल्पना योङ्हाङले महिलालाई सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउनसकेमा घरेलु तथा साना उद्योगको विकास भई देशमा अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालका समकालीन राजनीतिज्ञका रूपमा मोतीदेवी हुनुहुन्छ । उक्त कार्यक्रममा केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरु’ नामक कृति विमोचन गरिएको थियो । रासस

Follow me on Social Media: