लगातार पाँच वर्षसम्म सिङ्गापुर विश्वको सबैभन्दा महङ्गो शहर

एशियाली अर्थतन्त्रको विस्तारसँगै जीवनशैली पनि महङ्गो बन्दै

March 15, 2018

चैत १, सिङ्गापुर । सिङ्गापुर लगातार पाँचौं वर्षमा पनि विश्वकै सबैभन्दा महङ्गो शहर बनेको एक सर्वेक्षणले देखाएको छ । इकोनोमिष्ट इन्टिलिजेन्स युनिट (इआईयू)ले गरेको वर्ल्डवाइड कष्ट अफ लिभिङ २०१८ शीर्षकको सर्वेक्षणले यस्तो देखाएको हो ।

इआईयूले विश्वका १ सय ३३ ओटा शहरमा पाउरोटी, वाइन, सिगरेट र पेट्रोल लगायतका १ सय ५० भन्दा बढी वस्तुको मूल्य तुलना गरेर यो सूची तयार पारेको हो । इआईएको १० ओटा सबैभन्दा महङ्गो शहरको सूचीमा न्यूयोर्क, लण्डन र लस एन्जलसलगायतका शहर भने अटाएनन् ।

महङ्गो शहरको सूचीमा सिङ्गापुर शीर्ष स्थानमा आउनु भनेको एशियाली अर्थतन्त्र विस्तार हुने क्रमसँगै त्यहाँको जीवनशैली पनि महङ्गो बन्दै जानुको सङ्केत हो । सूचीको दोस्रो स्थानमा फ्रान्सेली शहर पेरिस पर्न सफल भएको छ भने सोल, हङकङ र सिड्नी सूचीको शीर्ष १० स्थानमा आइपुगेका छन् । यद्यपि एशियामा विश्वकै सस्तो शहरहरु पनि रहेका छन् । यसैक्रममा गत वर्ष अमेरिकी मुद्रा डलरको भाउमा आएको कमीका कारण न्यूयोर्क र लस एन्जलस जस्ता अमेरिकी शहर भने सूचीको शीर्ष १० स्थानभन्दा बाहिर परेका छन् । न्यूयोर्क र लस एन्जलस क्रमशः १३ औं र १४ औं स्थानमा आएका छन् । त्यस्तै बैङ्गलोर, चेन्नई, कराँची र नयाँ दिल्ली लगायतका शहर विश्वकै १० सस्तो शहरको सूचीमा परेका छन् । एजेन्सी